प्रभु बैंकद्वारा आकर्षक ब्याजदरमा घर तथा सवारी साधन कर्जा योजना सार्वजनिक
वि.सं.२०८३ साउन २९ शुक्रवार १४:४९
shares

काठमाडौं, २८ साउन । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकतालाई सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले विगत दुई दशकदेखि आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाउँदै देशभरका करिब ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत यी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार योजनाअन्तर्गत घर कर्जातर्फ अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। यस कर्जामा सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दर मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।
उक्त घर कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकहरूले समेत लिन सक्नेछन्। बैंकले यस योजनामार्फत ग्राहकहरूको आवाससम्बन्धी वित्तीय आवश्यकता सहज र सरल रूपमा पूरा गर्ने लक्ष्य लिएको जनाएको छ।
त्यसैगरी, सवारी साधन कर्जा अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ। यस योजनामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।
बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले ग्राहकहरूलाई आकर्षक ब्याजदरमा सवारी साधन खरिद गर्न सहज हुने बैंकको विश्वास छ।
प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा र विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ। बैंकका अनुसार यी दुवै कर्जा योजना देशभरका प्रभु बैंकका शाखामार्फत उपलब्ध हुनेछन्।














