Dhulikhel Eco Banner new

रसुवाको बाढी–पहिरोप्रति महासंघका संस्थापक अध्यक्ष कटुवालद्वारा दुःख व्यक्त, सहयोगमा जुट्न आग्रह

715
shares

काठमाडौँ,११ भदौ। रसुवामा गएको भीषण बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष कटुवालले गहिरो दुःख व्यक्त गरेका छन्।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, बाढी–पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा प्रभावित नागरिकको तत्काल उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।

संस्थापक अध्यक्ष कटुवालले विपद्को यस कठिन घडीमा मुलुकभर रहेका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई मानवीय भावनाका साथ प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

उनले भने, “प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको यस दुःखद् अवस्थामा हामी सबै उद्योगी–व्यवसायी एकजुट भएर पीडितको साथमा उभिनुपर्छ। राहत र उद्धारका लागि सक्दो सहयोग गर्नु हाम्रो सामाजिक दायित्व पनि हो।”

कटुवालले प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी तत्काल राहत उपलब्ध गराउनसमेत आग्रह गरेका छन्।

उनले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागि महासंघ तयार रहेको बताएका छन्।