Dhulikhel Eco Banner new

बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै थप ३०० रुपैयाँ छुट, राहत सामग्रीको ढुवानी निःशुल्क

442
shares

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि बुद्ध एयरले हवाई भाडादरमा कुनै वृद्धि नगरेको जनाएको छ । कम्पनीले यात्रुलाई सहज र सुलभ भाडादरमा सेवा दिने प्रतिबद्धता जनाउँदै वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।

बुद्ध एयरले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति सुरुदेखि नै गम्भीर रहेको जनाएको छ ।

कम्पनीले यात्रुलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर हेर्न आग्रह गरेको छ । वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज र सुलभ भाडादर उपलब्ध रहेको बुद्ध एयरको भनाइ छ ।

त्यस्तै, कम्पनीले भैरहवा, पोखरा तथा भरतपुरका लागि नियमित अतिरिक्त उडानसमेत सञ्चालन गरिरहेको जनाएको छ । वेबसाइट वा मोबाइल एपबाट टिकट खरिद गर्दा यात्रुले थप ३०० रुपैयाँ छुट पाउनेछन् ।

राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि भने गृहमन्त्रालयको निर्णयअनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ । बाटोघाटो सहज नभएसम्म हालकै भाडादर कायम राखिने पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।

वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि यात्रुलाई सहज एवं सुलभ भाडादरमा सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरले कतैबाट अत्यधिक महँगोमा टिकट बिक्री भइरहेको जानकारी पाएमा आफूलाई सूचित गर्न यात्रुसँग आग्रह गरेको छ । त्यस्ता गतिविधिविरुद्ध नियमानुसार आवश्यक तथा कडा कदम चालिने कम्पनीले जनाएको छ ।