हुम्लामा २१ दिनदेखि विद्युत् अवरुद्ध, हिमपातले सञ्चार सेवा प्रभावित
वि.सं.२०८३ असोज ११ आइतवार ११:२१
shares

काठमाडौं, ११ असोज । हुम्लाको हेल्दुम विद्युत् वितरण केन्द्रमा खराबी आएपछि २१ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा जिल्लाको मोबाइल नेटवर्क, खानेपानी तथा सरकारी कार्यालयका काम प्रभावित भएका छन् ।
पछिल्लो समय हिमपात भएपछि मोबाइल टावरमा जडान गरिएका सोलार प्रणालीले समेत पर्याप्त काम गर्न नसक्दा सञ्चार सेवा थप प्रभावित भएको छ ।
हुम्लामा अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन । स्थानीय विद्युत् प्रणालीमै निर्भर जिल्लामा वितरण केन्द्रमा आएको खराबी लामो समयसम्म मर्मत हुन नसक्दा सर्वसाधारणले समस्या भोग्दै आएका छन् ।
विद्युत् नहुँदा मोबाइल टावरमा जडान गरिएका सोलार प्रणालीबाट केही समय सेवा सञ्चालन भए पनि लामो समयसम्म नेटवर्क चल्न नसकेको स्थानीयले बताएका छन् ।
हुम्लाका पत्रकार नन्दकुमार सिंहका अनुसार विद्युत् नहुँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या भएको छ । ‘सोलार सिस्टमबाट फोन चार्ज गरेर काम चलाउनुपर्ने अवस्था छ । एनसेलले कुनै बेला काम गर्छ, नत्र फोन सम्पर्क गर्नै गाह्रो हुन्छ,’ उनले भने ।
मर्मत सामग्री नेपालगञ्जमै, उडान नहुँदा समस्या
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले विद्युत् वितरण केन्द्र मर्मतका लागि आवश्यक सामग्री नेपालगञ्जमा रहेको बताए । ‘सामान नेपालगञ्जमा छ। अहिले जहाजको उडान नहुँदा हुम्ला ल्याउन सकिएको छैन,’ उनले भने ।
उनका अनुसार आवश्यक सामग्री हुम्ला पुगेपछि पनि विद्युत् सेवा सञ्चालन गर्न करिब एक साता लाग्न सक्नेछ। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा मर्मत सामग्री जिल्लामा ल्याउन समस्या भएको उनले बताए।
हिमपातका कारण मोबाइल टावरमा रहेका सोलार प्रणालीले पर्याप्त ऊर्जा उत्पादन गर्न नसक्दा टेलिफोन सेवा पनि प्रभावित भएको छ । टावर केही समय चले पनि लामो समय सञ्चालन हुन नसक्दा जिल्लाबाहिर सम्पर्क गर्न कठिन भएको सिंहले बताए ।
विद्युत् अभावका कारण मोबाइल फोनलगायत विद्युतीय उपकरण चार्ज गर्न सरकारी कार्यालयमा रहेका सोलार प्रणालीको प्रयोग गर्नुपर्ने अवस्था आएको छ। विद्युत् नहुँदा खानेपानी आपूर्तिमा समेत असर परेको स्थानीयले बताएका छन्।
हिमपातसँगै चिसो बढिरहेका बेला विद्युत्, खानेपानी र सञ्चार सेवा प्रभावित हुँदा जिल्लाको जनजीवन थप कष्टकर बनेको छ। सञ्चार सम्पर्कसमेत अस्थिर हुँदा अत्यावश्यक सूचना आदानप्रदानमा समेत समस्या भएको छ।
विद्युत् सेवा अवरुद्ध भएको विषयमा प्रमुख जिल्ला अधिकारीसँग थप जानकारी लिने क्रममा कुराकानी गर्दागर्दै फोन सम्पर्क विच्छेद भएको थियो। उनले शनिबारदेखि फोन सेवा प्रभावित रहेको र आइतबार गरिएको सम्पर्क नै पहिलो कल भएको बताउँदै गर्दा पुनः फोन सम्पर्क हुन सकेन।
हुम्लामा केन्द्रीय प्रसारण लाइन नपुगेका कारण स्थानीय विद्युत् प्रणालीमा आउने खराबीले लामो समयसम्म सेवा प्रभावित हुने गरेको छ । मर्मत सामग्री हवाई माध्यमबाट ल्याउनुपर्ने र प्रतिकूल मौसममा उडान प्रभावित हुँदा विद्युत् सेवा सञ्चालनमा थप ढिलाइ हुने गरेको छ ।

















