उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी
वि.सं.२०८३ असोज १९ सोमवार १७:१०
shares

काठमाडौं, १९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने जनाएको छ ।
समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रका विभिन्न समस्या तथा समाधानका उपायबारे सरोकारवालासँग छलफल गरिएको हो ।
बैठकमा समिति सभापति रहबर अन्सारीले उद्योगी व्यवसायीले उठाएका समस्यालाई समितिले बैठकमार्फत नै सरकारका कामकारबाहीमा समन्वय र ध्यानाकर्षण गराउने बताए ।
उनले भने, ‘उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याहरूको समाधानका लागि हामी सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वयमा छौँ । उद्योगी व्यवसायीहरूले उठाउनुभएका समस्याहरूलाई समितिले गम्भीरतापूर्वक लिएको छ । बैठकमा प्राप्त सुझाव र समस्याहरूलाई सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरेर समाधानका लागि आवश्यक निर्देशन र पहल गर्छौँ। आजको बैठकमै विषय टुंगिने होइन, यसलाई निरन्तर फलोअप गरेर परिणाममा पुर्याउने हाम्रो उद्देश्य हो ।’
चिनी, ग्यासलगायतका विषयमा समितिले सरकारसँग निरन्तर समन्वय गर्दै आएको उनको भनाइ थियो ।
अन्सारीले उद्योग क्षेत्रमा देखिएका समस्यालाई तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा वर्गीकरण गरी समाधान गर्नुपर्ने बताए । उनले भन्सारमा बन्द रहेका वा बिग्रिएका स्क्यानरलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिने बताए ।
त्यस्तै, विभिन्न स्थानीय तहमा देखिएको कवाडी करको समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने उनले बताए ।

















