Dhulikhel Eco Banner new

हराएका शेयर प्रमाणपत्रको प्रतिलिपि दिने तयारी, दाबी विरोधका लागि ३५ दिने म्याद

663
shares
काठमाडौं — विभिन्न बैंक तथा वित्तीय संस्थाका शेयरधनीले शेयर प्रमाणपत्र हराएको भन्दै निवेदन दिएपछि एनआईएमबी एस क्यापिटलले प्रतिलिपि जारी गर्ने प्रक्रिया अघि बढाएको छ। क्यापिटलले बुधबार एक सार्वजनिक सूचनामार्फत उक्त प्रमाणपत्रहरूमाथि कसैको हकदाबी वा विरोध भए ३५ दिनभित्र सम्पर्क गर्न आह्वान गरेको हो।
क्यापिटलका अनुसार साविकको मेगा बैंक, कृषि विकास बैंक, सक्रिला डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स र माण्डु हाइड्रोपावरका शेयरधनीले नयाँ प्रमाणपत्र माग गरेका छन्। यसैगरी, गुडविल फाइनान्स, निर्धन उत्थान लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनी र एनआईबीएल समृद्धि फण्ड–१ का एकाइधनीको समेत प्रमाणपत्र हराएको निवेदन परेको छ।
यी शेयर तथा एकाइमाथि कुनै हकदाबी लाग्ने व्यक्ति वा संस्थाले तोकिएको म्यादभित्र प्रमाणसहित क्यापिटलको कमलादीस्थित कार्यालयमा उजुरी दिनुपर्नेछ। यदि ३५ दिनभित्र कुनै पनि दाबी विरोध नपरेको खण्डमा निवेदकहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराइने क्यापिटलले प्रस्ट पारेको छ।