Dhulikhel Eco Banner new

सुरक्षा अपडेटपछि सरकारी वेबसाइट खुल्न थाले, एक हजारभन्दा बढी सेवा सञ्चालनमा

897
shares

काठमाडौं, ०९ कार्तिक। साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका नेपालका सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आउन थालेका छन्। वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी (PHP) प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि गत बिहीबारदेखि प्रभावित भएका सरकारी प्रणालीमध्ये एक हजारभन्दा बढी वेबसाइट तथा अनलाइन सेवा सुरक्षा सुधारपछि सञ्चालनमा आएको सरकारी निकायले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा प्याच जडान र प्राविधिक परीक्षण पूरा भएपछि वेबसाइटहरू पुनः सञ्चालनमा ल्याइएको हो। दसैँ बिदाका बीच पनि प्राविधिक टोलीले प्रणाली सुरक्षित बनाउने र सेवा पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिएको थियो।

यसअघि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात व्यवस्था विभाग, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकलगायतका निकायका वेबसाइट तथा अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएका थिए। राजस्व अनुसन्धान विभागको मालवाहक सवारीसाधन ट्र्याक गर्ने भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (VCTS) समेत प्रभावित भएको थियो।

पीएचपीमा देखिएको सुरक्षा कमजोरीको दुरुपयोग भए सर्भरमा अनधिकृत पहुँच स्थापित गर्ने तथा संवेदनशील विवरणमा जोखिम उत्पन्न हुन सक्ने भएकाले साइबर सुरक्षा निकायले प्रणाली अद्यावधिक गर्न निर्देशन दिएका थिए। आवश्यक सुरक्षा सुधार तत्काल गर्न नसकिने अवस्थामा जोखिमयुक्त वेबसाइटलाई अस्थायी रूपमा अफलाइन राख्नसमेत सुझाव दिइएको थियो। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार नेपालमा यही कमजोरीका कारण अनधिकृत पहुँच वा साइबर आक्रमण भएको घटना सार्वजनिक भएको थिएन।