Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

923
shares

काठमाडौं, ०९ कार्तिक। ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गरेको छ। बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ को उपाधि जितेको थियो।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाउँदै बैंकलाई सम्मान गरेको जनाएको छ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका छन्।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। यस सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उल्लेख गर्दै बैंकले आफ्नो प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।

बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’ जस्ता सम्मान प्राप्त गरिसकेको छ। सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गर्नु बैंकका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हो।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।