कात्तिक ११ देखि हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्दै, पहिलो चरणमा स्थानीय र प्रवासीलाई
वि.सं.२०८३ कात्तिक १० मंगलवार ११:३३
shares

हिम पर्वत हाइड्रोपावर कम्पनीले आगामी कात्तिक ११ गते (बुधबार) देखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर बजारमा ल्याउने अनुमति पाएको छ। जसमध्ये १६ लाख ९० हजार कित्ता सेयर दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। अति प्रभावित वडा र अन्य वडा गरी स्थानीयलाई दुई भागमा वर्गीकरण गरेर यो सेयर बाँडिनेछ। यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोमध्ये ४ लाख २२ हजार ५ सय कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सुरक्षित गरिएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन्।
आईपीओमा वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा कात्तिक १६ र ढिलोमा २५ गतेसम्म ‘मेरो सेयर’ वा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि भने छिटोमा कात्तिक २५ र पर्याप्त आवेदन नपरे मंसिर १० गतेसम्म म्याद तोकिएको छ। स्थानीयले नेपाल इन्भेस्टमेन्ट, सिन्धु विकास, प्रभु, लक्ष्मी सनराइज र सिटिजन्स बैंकका तोकिएका शाखा र एक्सटेन्सन काउन्टरबाट आवेदन बुझाउन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा सिटिजन्स क्यापिटलले पाएको छ।




















