विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण ८१ प्रतिशत सम्पन्न
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १५:०६
shares

काठमाडौं,१२ कार्तिक। कोशी प्रदेशकै सबैभन्दा ठूलो विराटनगर विमानस्थलमा निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । यात्रुको सुविधा र हितलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको भवन अत्याधुनिक र प्रविधिमैत्री हुने जनाइएको छ ।
सन् १९५८ मा सञ्चालनमा आएको विराटनगर विमानस्थलको निर्माणमा भारतीय र कोरियाली सरकारको सहयोग रहेको थियो । झण्डै ६८ वर्ष पुरानो विमानस्थलका टर्मिनललगायत भौतिक संरचनालाई भूकम्पप्रतिरोधी बनाउने उद्देश्यले नयाँ भवन निर्माण सुरु गरिएको हो ।
विसं २०७९ पुसमा तीन अर्ब १२ करोड रुपैयाँ लागतमा सुरु गरिएको उक्त निर्माण परियोजनाअन्तर्गत तीनतले टर्मिनल भवन निर्माण भइरहेको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काका अनुसार नयाँ भवनको क्षेत्रफल १८ हजार वर्गमिटर रहेको छ ।
कुल १२२ बिघा क्षेत्रफलमा फैलिएको विराटनगर विमानस्थलको धावनमार्ग एक हजार ७७५ मिटर लामो छ । सूचना अधिकारी खड्काका अनुसार विमानस्थलबाट हाल दैनिक २० देखि २५ वटा उडान हुँदै आएका छन् ।
नयाँ टर्मिनल भवनको निर्माण विसं २०८३ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार निर्माण कम्पनीले पछिल्लो समय कामलाई तीव्रता दिएको छ ।
हाल पाँचवटा जहाज पार्किङ गर्न सकिने विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणसँगै पार्किङ क्षमता विस्तार गरी सातवटा जहाज अटाउन सक्ने बनाइने जनाइएको छ ।




















