Dhulikhel Eco Banner new

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण ८१ प्रतिशत सम्पन्न

481
shares

काठमाडौं,१२ कार्तिक।  कोशी प्रदेशकै सबैभन्दा ठूलो विराटनगर विमानस्थलमा निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । यात्रुको सुविधा र हितलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको भवन अत्याधुनिक र प्रविधिमैत्री हुने जनाइएको छ ।

सन् १९५८ मा सञ्चालनमा आएको विराटनगर विमानस्थलको निर्माणमा भारतीय र कोरियाली सरकारको सहयोग रहेको थियो । झण्डै ६८ वर्ष पुरानो विमानस्थलका टर्मिनललगायत भौतिक संरचनालाई भूकम्पप्रतिरोधी बनाउने उद्देश्यले नयाँ भवन निर्माण सुरु गरिएको हो ।

विसं २०७९ पुसमा तीन अर्ब १२ करोड रुपैयाँ लागतमा सुरु गरिएको उक्त निर्माण परियोजनाअन्तर्गत तीनतले टर्मिनल भवन निर्माण भइरहेको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काका अनुसार नयाँ भवनको क्षेत्रफल १८ हजार वर्गमिटर रहेको छ ।

कुल १२२ बिघा क्षेत्रफलमा फैलिएको विराटनगर विमानस्थलको धावनमार्ग एक हजार ७७५ मिटर लामो छ । सूचना अधिकारी खड्काका अनुसार विमानस्थलबाट हाल दैनिक २० देखि २५ वटा उडान हुँदै आएका छन् ।

नयाँ टर्मिनल भवनको निर्माण विसं २०८३ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार निर्माण कम्पनीले पछिल्लो समय कामलाई तीव्रता दिएको छ ।

हाल पाँचवटा जहाज पार्किङ गर्न सकिने विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणसँगै पार्किङ क्षमता विस्तार गरी सातवटा जहाज अटाउन सक्ने बनाइने जनाइएको छ ।