शेयर बजारमा लगातार तेस्रो दिन हरियाली, कारोबार साढे ८ अर्बमाथि
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १५:२८
shares

काठमाडौं,१२ कार्तिक। साताको कारोबार हुने बिहीबार शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ । यस दिन शेयर बजारमा कुल ८ अर्ब ५५ करोड ८० लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३५० स्टकको ६९ हजार ६१९ पटकको कारोबारमार्फत २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कारोबारको रकम ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
बिहीबारको कारोबार रकम करिब साढे ६ महिनायताकै उच्च हो । यसअघि गत वैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
बेनी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट
यस दिन बेनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ८० रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ३.६५ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि देखिएसँगै बिहीबारको बजारमा शेयर खरिदबिक्रीको गतिविधि थप सक्रिय बनेको छ ।




















