युवालाई निःशुल्क एआई तालिम दिँदै सरकार, २ हजार जनाले सहभागी हुन पाउने
वि.सं.२०८३ कात्तिक १५ आइतवार १०:०२
shares

काठमाडौं, १५ कार्तिक। सरकारले युवालाई कृत्रिम बौद्धिकता (एआई) प्रविधिबारे व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (National Vocational Training Academy) को आयोजना तथा ING Group र Gyan Bazar Online को सहकार्यमा आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते तालिम सञ्चालन हुन लागेको हो ।
तालिममा कुल २ हजार युवालाई सहभागी गराइने आयोजकले जनाएको छ । चारवटा सत्रमा सञ्चालन हुने तालिमको प्रत्येक सत्रमा ५०० जनाका दरले सहभागी गराइनेछ ।
तालिममा सहभागी युवाले ChatGPT र Claude लगायतका एआई उपकरण प्रयोग गर्ने तरिका, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, एआईको सहयोगमा तस्बिर तथा छोटा भिडियो निर्माण गर्ने जस्ता व्यावहारिक सीप सिक्न पाउनेछन् ।
त्यसैगरी एआई प्रविधिको जिम्मेवार र सुरक्षित प्रयोगबारे समेत प्रशिक्षण दिइनेछ । पछिल्लो समय विभिन्न क्षेत्रमा एआईको प्रयोग बढ्दै गइरहेको अवस्थामा युवालाई प्रविधिमैत्री र सीपयुक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा सहभागी हुन इच्छुक युवाले अनलाइनमार्फत गुगल फारम भरेर आवेदन दिन सक्नेछन् । आवेदन दिएका सहभागीलाई तालिम सुरु हुनुअघि नै चारवटा सत्रमध्ये कुनै एक सत्रमा समावेश गरिने आयोजकले जनाएको छ ।
तालिममा सहभागी हुन यहाँ क्लिक गरी आवेदन दिनुहोस् :
https://forms.gle/7sAikUMaBUM7YkNK8



















