Dhulikhel Eco Banner new

व्यावसायिक फिल्महरूले आर्थिक रूपमा बलियो बनाउँदा कलात्मक फिल्महरूले सन्तुष्टि दिए : शबाना आजमी

585
shares

काठमाडौं, १५ कार्तिक।  प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीले शनिवार आफ्नो फिल्म यात्रा, समानताको सोच र व्यक्तिगत जीवनका विभिन्न पाटो बारे कुराकानी गरिन् ।

 काठमाडौँ महानगरपालिकाले आयोजना गरेको फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी शबानाले अभिनेत्री स्वस्तिमा खड्कासँग भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा खुलेरै भलाकुसारी गरिन् । उनको यो पहिलो भ्रमण भने होइन, उनी पटक पटक नेपाल आइसकेकी छिन्, तर शनिवार उनले आफ्नो प्रसंशकका जिज्ञासा मेटाउने प्रयास गरिन् ।

फरक देश र पुस्ताका भए पनि शबाना र स्वस्तिमाको फिल्मोग्राफीमा केहि समानता छन् । यी दुवैले कमर्सियल र आर्ट हाउस फिल्ममा अभिनय गरेका छन् । सम्पन्न अन्तरक्रियामा दुई अभिनेत्रीको सोचमा समानता पनि सुनियो ।

शबानाले आफूले अभिनय गरेका फिल्म सामाजिक रूपमा सचेत रहेको र तिनले समाज तथा दर्शकमा गहिरो प्रभाव पारेकोमा खुसी व्यक्त गरिन् ।

उनका अनुसार कलाकारले एउटा निश्चित समयमा शोषण, दमन र मानवअधिकारजस्ता गम्भीर मुद्दामा आफ्नो धारणा राख्नुपर्ने अवस्था आउँछ । यसका लागि अभिनेत्रीका हिसाबले पर्दामार्फत पनि शसक्त आवाज उठाउनु पर्छ ।

‘समयसँगै एक कलाकारको जीवनमा यस्तो मोड आउँछ, जहाँ तपाईंले मात्र अभिनय गर्न सक्नुहुन्न । तपाईंले शोषण, दमन र मानवअधिकारजस्ता गम्भीर मुद्दाहरूमा चुप बस्न सक्नुहुन्न, त्यो समयमा तपाइँले आफ्नो पात्रमार्फत आफ्नो धारणा व्यक्त गर्नै पर्छ’ उनले भनिन् ।

शबानाले कलात्मक र व्यावसायिक दुवै धारका फिल्ममा सशक्त अभिनय गरेकी छन् । पहिलो फिल्म ‘अंकुर’ बाटै उनले राष्ट्रिय फिल्म पुरस्कार जितेकी शबानाले सुरुआती दिनमा ‘आर्ट फिल्म गर्ने अभिनेत्रीले व्यावसायिक फिल्म गर्न सक्दैनन्’ भन्ने धारणा सुन्ने गरेको बताइन् । तर दुवै धारका फिल्ममा काम गरेर सन्तुलन कायम गर्न सकेकोमा उनलाई गर्व छ । उनी आफ्नो फिल्मोग्राफीदेखि सन्तुष्ट छिन् ।

‘व्यावसायिक फिल्महरूले मलाई आर्थिक रूपमा बलियो बनाउँदा कलात्मक फिल्महरूले मलाई आत्मिक सन्तुष्टि दिए’, उनले भनिन् ।

फिल्म यात्रासँगै शबानाले व्यक्तिगत जीवन र प्रेम सम्बन्धबारे पनि संवाद गरिन् । उनी प्रसिद्ध गीतकार, पटकथा लेखक तथा कवि जावेद अख्तरकी जीवनसाथी हुन् ।

उनीहरूको सम्बन्धबारे स्वस्तिमाले सोधिन्, ‘हजुरहरू दुई जनाले एकअर्कालाई कसरी ठाउँ दिनुहुन्छ र आफ्नो अस्तित्व कसरी जोगाउनुहुन्छ रु’

जवाफमा शबानाले आफ्नो सम्बन्धको बलियो आधार मित्रता भएको बताइन् । ‘हाम्रो सम्बन्धको सबैभन्दा बलियो फ्याक्टर भनेको मित्रता हो । उहाँ मेरा सबैभन्दा राम्रो साथी हुनुहुन्छ र म उहाँकी राम्रो साथी हुँ । जब तपाइँ कसैको साथी बन्नु हुन्छ, त्यहाँ स्पेस आफैँ पाउनु हुन्छ’, उनले भनिन्।

कार्यक्रममा शबानासँग पहिलो फिल्म ‘अंकुर’ देखि पछिल्लो रिलिज फिल्म ‘रकी और रानी की प्रेम कहानी’ सम्मको फिल्म यात्राका विभिन्न प्रसंगबारे स्वस्तिमाले कुराकानी गरेकी थिइन् ।