नेपाली मूर्तिकलाले बनायो विश्व कीर्तिमान, मञ्जुश्रीको मूर्ति २६५ करोड रुपैयाँमा बिक्री
वि.सं.२०८३ कात्तिक १५ आइतवार १४:५२
shares

काठमाडौं, १५ कार्तिक। नेपालमा निर्मित १२औँ शताब्दीको मञ्जुश्रीको मूर्ति हङकङस्थित क्रिस्टीज लिलामी घरमा करिब २६५ करोड रुपैयाँ (१ करोड ७५ लाख अमेरिकी डलर) मा बिक्री भएको छ। हिमालयन क्षेत्रको गिल्ट-ब्रन्ज अर्थात् सुनको जलप लगाइएको कांस्य मूर्तिकलामध्ये यो बिक्रीले विश्व लिलामी कीर्तिमान कायम गरेको छ।
नेपालको नेवार कला परम्परामा निर्मित उक्त मूर्ति क्रिस्टीजको हङकङमा आयोजित शरद ऋतुको लिलामी सत्रको सबैभन्दा महँगो वस्तु बनेको छ। मूर्ति १३ करोड ७३ लाख ५० हजार हङकङ डलरमा बिक्री भएको हो, जुन यसको अनुमानित न्यूनतम मूल्यभन्दा दोब्बरभन्दा बढी हो।
नेवार कला परम्परा धातुकलामा रहेको उत्कृष्ट सीप र हिमालय क्षेत्रको बौद्ध कलामा पारेको प्रभावका लागि प्रसिद्ध छ। यही परम्परामा निर्मित मञ्जुश्रीको मूर्तिको कीर्तिमानी बिक्रीले नेपालको समृद्ध कला तथा सांस्कृतिक सम्पदाले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरिरहेको पहिचान र मूल्यलाई थप उजागर गरेको छ।



















