Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकको नाफा २४.४९ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २ अर्ब ३१ करोड

442
shares

काठमाडौं, १५ कार्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २४.४९ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। व्यावसायिक दायरा विस्तारसँगै कोर बैंकिङ आम्दानीमा आएको सुधार र प्रभावकारी लागत व्यवस्थापनले नाफा वृद्धिमा मुख्य योगदान पुर्‍याएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड रुपैयाँबाट बढेर ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड रुपैयाँबाट वृद्धि भई ६ अर्ब रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा पनि २ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

बैंकको सञ्चित वितरणयोग्य नाफा २ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६ खर्ब ९० अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह ४ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ।

कम्पनीका प्रमुख वित्तीय सूचकमा प्रतिशेयर आम्दानी बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा कायम भएको छ।

बैंकले निष्क्रिय कर्जालाई ४.७९ प्रतिशतमा नियन्त्रणमा राखेको छ। त्यस्तै, बैंकको लोन लस प्रोभिजन कभरेज १२०.१७ प्रतिशत रहेको छ।