पश्चिमी वायुको आंशिक प्रभावले देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:२७
shares

काठमाडौं, १६ कात्तिक।पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपातसमेत भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ ।
विभागले देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैबीच, बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’को नेपालमा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । उक्त चक्रवात थप शक्तिशाली बन्दै भारतको दक्षिणी आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ ।
चक्रवातका कारण भारतको तटीय क्षेत्रमा प्रभाव पर्न सक्ने भए पनि नेपालमा भने यसको प्रत्यक्ष तथा उल्लेखनीय असर नपर्ने विभागको आकलन छ ।



















