विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध
वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:४६
shares

काठमाडौं, १६ कात्तिक। विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।
विवरणअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण असोज २५ गते बिहान ५ः३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका–६ नरपानीमा पहिरोका कारण अवरुद्ध भएको सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडक कात्तिक १५ गते बिहान ४ः१५ बजेदेखि अवरुद्ध भएको थियो ।
यस्तै, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडक कात्तिक १४ गते बिहान ५ः५५ बजेदेखि अवरुद्ध भएको थियो ।
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।



















