Dhulikhel Eco Banner new

मंसिर ९ देखि नबिल ग्रोथ फण्डको इकाई बिक्री खुला

1.34K
shares

काठमाडौं, २७ कात्तिक। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले मंसिर ९ गतेदेखि ‘नबिल ग्रोथ फण्ड’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने उक्त बन्दमुखी योजनामार्फत कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो।

कुल १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई विभिन्न प्रयोजनका लागि छुट्याइएको छ। यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकका लागि र १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका लागि सुरक्षित गरिएको छ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिनेछ।

उक्त फण्डमा आवेदन दिने समय छिटोमा मंसिर १४ गतेसम्म तोकिएको छ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

१ अर्ब रुपैयाँको फण्ड, अवधि १० वर्ष

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजना हो। यसको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने योजना अवधि १० वर्षको हुनेछ।

फण्ड सफल हुन कुल निष्काशित इकाईको न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्नेछ। उक्त परिमाणमा आवेदन नपरेमा योजना खारेज गरिनेछ। त्यस अवस्थामा आवेदनकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिनेछ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

यस्तो छ रेटिङ

केयर रेटिङ नेपालले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कोषको उचित व्यवस्थापनका लागि पर्याप्त आधार रहेको संकेत गर्दछ।

त्यस्तै, कोष प्रवर्द्धक नबिल बैंकलाई ‘केयर एनपी सिंगल ए प्लस’ रेटिङ प्रदान गरिएको छ। उक्त रेटिङले बैंक समयमा नै वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।