Dhulikhel Eco Banner new

३०० रुपैयाँको सामान किन्दा राम श्रेष्ठलाई १० लाखको चिठ्ठा

1.26K
shares

काठमाडौं, १ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी राम श्रेष्ठले सरकारको करदाता प्रोत्साहन कार्यक्रममा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।

श्रेष्ठले जम्मा ३०० रुपैयाँको सामान खरिद गर्दा लिएको करबिलका आधारमा चिठ्ठामार्फत १० लाख रुपैयाँको पुरस्कार जितेका हुन् ।

सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक करबिल लिन प्रोत्साहित गर्ने उद्देश्यले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत गरिएको चिठ्ठामा श्रेष्ठले बम्पर पुरस्कार प्राप्त गरेका हुन् ।

सरकारले कर अनुपालन बढाउने तथा उपभोक्तामा खरिदबिल माग्ने संस्कृतिको विकास गर्ने उद्देश्यले साउन १ गतेदेखि यो कार्यक्रम सुरु गरेको थियो ।

कार्यक्रममार्फत उपभोक्तालाई प्रत्येक खरिदमा आधिकारिक करबिल लिन प्रोत्साहित गर्नुका साथै बजारमा कर छली नियन्त्रण र राजस्व संकलनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।