Dhulikhel Eco Banner new

नेपालको कर–जीडीपी अनुपात २१ प्रतिशत पुगेको महासंघ अध्यक्ष श्रेष्ठको भनाइ

2.22K
shares

काठमाडौं, १ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाकै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको बताएका छन्। उनले व्यवसायीले करको भार बढी भएको महसुस गरिरहेको उल्लेख गर्दै करका दर घटाउन र व्यवसाय सञ्चालन लागत कम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालको कर–कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात २१ प्रतिशत पुगेको उल्लेख गरे। उनका अनुसार समग्र कर भुक्तानीको तुलनामा नेपाली करदाताले क्षेत्रीय स्तरमा उच्च कर भार वहन गरिरहेका छन्।

नेपालको आर्थिक वृद्धिदर र कर वृद्धिदरबीच देखिएको अन्तरलाई अर्थतन्त्रको चुनौतीका रूपमा प्रस्तुत गर्दै उनले यस अवस्थाको जिम्मेवारी वर्तमान सरकारलाई मात्र दिन नहुने बताए। विगतका सरकार र समग्र समाजको पनि यसमा जिम्मेवारी रहेको उनको भनाइ छ।

श्रेष्ठले अर्थमन्त्रीलाई करका दर क्रमशः घटाउने दिशामा अघि बढ्न आग्रह गर्दै व्यवसाय सञ्चालनको लागत र व्यवसाय गर्न सहजताको विषयलाई आर्थिक नीतिमा प्राथमिकता दिनुपर्ने बताए।

नयाँ सरकार गठन भएपछि केही नीतिगत पहल भएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर तथा भन्सार दरमा कटौती, उधारो असुली, बौद्धिक सम्पत्ति संरक्षण, सीमित दायित्वको साझेदारीसम्बन्धी कानुन र सनसेट कानुन निर्माणलगायतका विषय समेटिनुलाई सकारात्मक रूपमा लिएको बताए।

त्यस्तै, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले अघि सारेको निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति (पीआईपीएस) लाई पनि उनले स्वागत गरेका छन्। महासंघले यसअघि निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि उक्त रणनीति कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएको उनले उल्लेख गरे।

श्रेष्ठले बजेट तथा नीतिगत घोषणामा समेटिएका कार्यक्रम कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्। उनका अनुसार निजी क्षेत्रको संरक्षण, लगानी प्रवर्द्धन र व्यवसाय सञ्चालनको वातावरण सुधारसँग सम्बन्धित नीतिगत व्यवस्थाको कार्यान्वयनले व्यवसायीका लागि लगानी तथा सञ्चालनसम्बन्धी वातावरणमा प्रभाव पार्नेछ।

उनले करको भार घटाउने र व्यवसाय सञ्चालन लागत कम गर्ने विषयलाई आर्थिक नीतिसँग जोड्दै यसतर्फ सरकारको ध्यान आवश्यक रहेको बताएका छन्।