Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकले ल्यायो ऋण आवेदनको अवस्था अनलाइन हेर्न मिल्ने सेवा

1.96K
shares

काठमाडौं, १ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले ग्राहकले पेस गरेको ऋण आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने ‘ऋण आवेदन ट्र्याकिङ’ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार नयाँ सेवामार्फत ग्राहकले आफ्नो ऋण आवेदन कुन चरणमा पुगेको छ, मूल्यांकन तथा स्वीकृति प्रक्रिया कहाँ पुगेको छ र आवेदनसम्बन्धी पछिल्ला अद्यावधिक जानकारी डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र ऋण आवेदन ट्र्याकिङ आईडी प्रयोग गर्नुपर्नेछ। उक्त विवरणका आधारमा आवेदनको अवस्था हेर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसअघि ऋण आवेदनको प्रगति बुझ्न ग्राहक बैंकको शाखा कार्यालयमा उपस्थित हुनुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो। नयाँ सेवापछि ग्राहकले जुनसुकै समय र स्थानबाट आफ्नो आवेदनको अवस्था अनलाइनमार्फत अनुगमन गर्न सक्ने बैंकको भनाइ छ।

त्यसैगरी, ऋण आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाउने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

बैंकले पछिल्ला वर्षहरूमा प्रविधिमा आधारित बैंकिङ सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। ग्राहकको आवश्यकता तथा वित्तीय प्रविधिमा आएको विकासअनुसार बैंकिङ सेवा र प्रक्रियालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नयाँ सेवा सुरु गरिएको बैंकले जनाएको छ।

बैंकको मूल मन्त्र ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ रहेको छ। सोही अवधारणाअनुसार ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले ऋण आवेदन ट्र्याकिङ सेवा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ।

बैंकले आगामी दिनमा पनि प्रविधिमा आधारित नयाँ सेवा तथा सुविधाको विकास र विस्तार गर्ने जनाएको छ।