Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा एक वर्षमा ७ खर्ब ६५ अर्ब रुपैयाँ बराबरका झुत्रा नोट नष्ट

2.73K
shares

काठमाडौं, २ मंसिर । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन भएका झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा प्रयोग गर्न अयोग्य नोट धुल्याएर नष्ट गरेको हो।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले सट्टाभर्ना तथा जम्मा गर्न ल्याएका विभिन्न दरका नोट नष्ट गरी ब्रिकेट बनाइएको थियो।

यसैबीच, मुलुकमा चलनचल्तीमा रहेको नोटको परिमाण पनि बढेको छ। २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म उक्त रकम ६.०८ प्रतिशतले बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

बैंकनोटको डिजाइन तथा सुरक्षण विशेषतामा अद्यावधिक

राष्ट्र बैंकले बैंकनोटको सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक तथा परिमार्जन गर्दै आएको जनाएको छ। बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ।

विभिन्न दरका नोट छपाइ तथा आपूर्ति

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौताअनुसार आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन्।

त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो र दोस्रो लटमा गरी २३ करोड थान आपूर्ति भएका छन्।

१०० रुपैयाँ दरका ३० करोड थान बैंकनोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो र दोस्रो लटमा गरी २१ करोड थान नोट आपूर्ति भई ढुकुटीमा राखिएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, ५०० रुपैयाँ दरका २३ करोड थान बैंकनोट आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो लटमा १२ करोड थान नोट आपूर्ति भएका छन्।

यसका अतिरिक्त ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटको मौज्दात बढ्यो

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म केन्द्रीय बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ को असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ रहेको थियो।

यसअनुसार एक वर्षको अवधिमा केन्द्रीय बैंकसँग रहेको नयाँ नोटको मौज्दात बढेको देखिन्छ।