Dhulikhel Eco Banner new

सुन–चाँदीको चमक हराउँदै, लगातार मूल्य घट्नुका यस्ता छन् कारण

728
shares

काठमाडौं, ४ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा निरन्तर गिरावट आएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। पछिल्लो एक सातामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ हजार ३०० रुपैयाँले घटेको छ।

गत शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। एक साताको अवधिमा सुनको मूल्य ९.६८ प्रतिशतले घटेको हो।

चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ। यसअनुसार एक सातामै चाँदीको मूल्य प्रतितोला ५९० रुपैयाँ अर्थात् १५.९५ प्रतिशतले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सुन–चाँदीको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारका विभिन्न कारण जिम्मेवार छन्।

उनका अनुसार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरसम्बन्धी नीतिलाई थप कडा बनाउँदै लैजाने तयारी गरेपछि अमेरिकी डलर बलियो हुँदै गएको छ। डलरको मजबुतीले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा दबाब सिर्जना गरेको शाक्यको भनाइ छ।

त्यस्तै, विभिन्न देशबीच युद्ध जारी रहेका बेला केही मुलुकले आफ्नो सुनको सञ्चिति घटाउँदै सुन बिक्री गरिरहेको पनि उनले बताए। बजारमा सुनको आपूर्ति बढ्दा मूल्यमा गिरावट आउन सक्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय कमोडिटिज एक्सचेन्जमा बढेको बिक्री चापले पनि सुनको मूल्य घटाउन भूमिका खेलेको शाक्यले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा १० प्रतिशत मार्जिनमा सुन खरिद गर्न सकिने व्यवस्था छ। मूल्य घट्न थालेपछि यस्तो कारोबारमा संलग्न लगानीकर्ताले थप घाटा हुन नदिन सुन बिक्री गर्ने र कारोबारको राफसाफका लागि पनि बिक्री चाप बढाउने गरेका छन्।

यसले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थप घटाउन सहयोग गरिरहेको उनको भनाइ छ।

अब सुन–चाँदीको मूल्यले कुन दिशा लिन्छ भन्ने विषय अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक गतिविधिमा निर्भर रहने देखिएको छ।