Dhulikhel Eco Banner new

राजस्व चुहावट रोक्न अर्थमन्त्री वाग्लेको निर्देशन, लक्ष्य पूरा नगर्ने कार्यालयमाथि निगरानी गर्ने चेतावनी

793
shares

काठमाडौं, ६ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट कडाइका साथ नियन्त्रण गर्न र सरकारले निर्धारण गरेको राजस्व लक्ष्य पूरा गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार मोरङस्थित विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले राजस्व चुहावटप्रति मन्त्रालय शून्य सहनशीलताको नीतिमा रहने बताए । साथै, निर्धारित लक्ष्य पूरा गर्न नसक्ने कार्यालय र नेतृत्वको कार्यसम्पादन समीक्षाका क्रममा नजिकबाट निगरानी गरिने चेतावनी दिए ।

उनले सरकारले निर्धारण गरेको १६ खर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गर्न कर्मचारीलाई सक्रियतापूर्वक काम गर्न आग्रह गरे । व्यापार तथा व्यवसायलाई सहज बनाउँदै अनावश्यक शुल्क र कर छल्ने व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

वाग्लेले कर्मचारीले आफ्नो कामलाई छिटो र प्रभावकारी बनाउन आवश्यक पर्ने पूर्वाधार तथा सुविधाबारे स्पष्ट जानकारी गराए मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

निरीक्षणका क्रममा कार्यवाहक अर्थसचिव डा. सुमन दाहालले सीमा क्षेत्रमा हुने मूल्य घोषणाको जाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । उनले उक्त क्षेत्रमा आवश्यक दुईवटा गेट निर्माण गर्न तथा अनलाइन मूल्य प्रणालीको प्रभावकारिताबारे छलफल गर्न पनि आग्रह गरे ।

यसअघि प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले टोलीलाई कार्यालयको दैनिक कार्यसम्पादन तथा गतिविधिबारे जानकारी गराएका थिए ।