Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको तेस्रो गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी

715
shares

काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो संस्करणको गरिमा रोड रेस २०८३ सफलतापूर्वक आयोजना गरेको छ । प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए ।

प्रतियोगितामा पुरुष तथा महिला खुला १० किलोमिटर दौड र पुरुष तथा महिला कर्पोरेट ५ किलोमिटर दौड गरी चार विधा समावेश गरिएको थियो ।

खुला १० किलोमिटर दौडको पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।

त्यस्तै, कर्पोरेट ५ किलोमिटर दौडको पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए भने महिलातर्फ दिव्या बिष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।

बैंकले प्रत्येक विधाका उत्कृष्ट पाँच स्थान हासिल गर्ने धावकलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष दिलीप प्रताप खाँण, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालकहरू, सेयरधनीहरू, विभिन्न संघसंस्था तथा स्थानीय निकायका प्रतिनिधिहरू, पत्रकार र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभरका नौ स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गर्नुका साथै अन्य संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी गतिविधिहरू पनि सञ्चालन गर्ने जनाएको छ ।