Dhulikhel Eco Banner new

कोरला नाकाबाट इभी आयातमा उछाल, चार महिनामै भन्सारले उठायो लक्ष्यभन्दा ३ अर्ब ५५ करोड बढी राजस्व

1.05K
shares

काठमाडौं, ६ मंसिर । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा इभी आयात भएकामा यस वर्ष चार महिनामै त्यसको दोब्बरभन्दा बढी सवारीसाधन भित्रिएका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा इभी आयात भएका छन् । छोटो अवधिमै यति ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्रिएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनबाट आउने इभीसहितका मालसामान कोरला नाकाबाट आयात हुने क्रम बढेको भन्सार कार्यालयको अनुमान छ । भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट आयात बढेको हो ।

तर कोरला नाकाबाट आयात भएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन भने समस्या देखिएको छ । जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण भन्सार जाँचपास भइसकेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै सडकमा रोकिएका छन् । आयातको संख्या तीव्र रूपमा बढे पनि त्यसअनुसार सवारीसाधन ढुवानी गर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापन हुन नसकेको देखिएको छ ।

चार महिनामै वार्षिक लक्ष्यभन्दा ३ अर्ब ५५ करोड बढी राजस्व

विद्युतीय सवारीसाधनको आयात बढेसँगै कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलन पनि उल्लेख्य बढेको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि कार्यालयको वार्षिक राजस्व लक्ष्य ९ अर्ब रुपैयाँ मात्रै छ ।

यसअनुसार कार्यालयले चार महिनामै वार्षिक लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा चार महिनाको राजस्व संकलन करिब १३९ प्रतिशत पुगेको छ ।

भन्सार कार्यालयका अनुसार पहिलो चौमासिकमा चीनबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । इभीका अतिरिक्त लत्ताकपडा, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न मुख्य आयातित वस्तु हुन् ।

सोही अवधिमा कोरला नाका हुँदै नेपालबाट चीनतर्फ २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका सामान निर्यात भएका छन् । नेपालबाट मुख्यतः हस्तकलाका सामग्री र अन्य नेपाली उत्पादन चीनतर्फ निकासी भएको भन्सार अधिकृत सिंहले जानकारी दिएका छन् ।

आयात र निर्यातको तथ्यांकले कोरला नाका चीनसँगको व्यापारका लागि महत्वपूर्ण बन्दै गएको देखाउँछ । तर आयातको तुलनामा निर्यात निकै कम छ । पहिलो चार महिनामा चीनबाट ३० अर्ब रुपैयाँभन्दा बढीका सामान आयात हुँदा नेपालबाट ३० करोड रुपैयाँभन्दा कमका सामान मात्रै निर्यात भएका छन् । यसले कोरला नाकाबाट हुने व्यापारमा आयातको हिस्सा अत्यधिक रहेको देखाउँछ ।