घोप्टेभिरको जोखिमपूर्ण ढिस्को काट्न दैनिक पाँच घण्टा सडक बन्द
वि.सं.२०८३ मंसिर ६ आइतवार १३:३९
shares

काठमाडौं, ६ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा पहिरोको जोखिम न्यूनीकरण गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरेर सडक माथिको जोखिमपूर्ण ढिस्को काट्न थालिएको छ।
करिब एक महिनादेखि पटकपटक सुक्खा पहिरो खस्दै आएको घोप्टेभिरमा जोखिमपूर्ण भाग हटाउन शनिबारदेखि काम सुरु गरिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का अनुसार शनिबार नागढुङ्गातर्फबाट अस्थायी बाटो निर्माण गरी डाँडाको माथिल्लो भागमा एक्साभेटर पुर्याइएको थियो।
आइतबारदेखि करिब १०० मिटर उचाइमा रहेको जोखिमपूर्ण भागको कटान सुरु गरिएको निर्माण कम्पनी शर्मा जेआईसीजी जेभीका इन्जिनियर ईश्वर नेपालले जानकारी दिए।
उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकेर कटानको काम भइरहेको छ। माथिल्लो भागबाट क्रमशः तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झार्ने योजना रहेको उनले बताए। अवस्था अनुकूल भए सोमबारदेखि थप एउटा एक्साभेटर परिचालन गरिने उनको भनाइ छ।
घोप्टेभिरमा पहिरोको जोखिम न्यूनीकरणसँगै सडक विस्तारको काम पनि भइरहेको छ। मुग्लिनतर्फको करिब १५० मिटर सडकखण्ड तीन मिटर चौडा बनाउनुपर्ने भएकाले सवारी आवागमन रोकिएको समयमा सडकको भित्तो काट्ने काम भइरहेको छ।
त्यसैगरी चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोलामा पनि सडक विस्तारको काम सुरु गरिएको छ। उक्त स्थानमा करिब १०० मिटर सडक दुई मिटर चौडा बनाउने योजना रहेको छ। दुवै स्थानमा दुईवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी निर्माण कार्य भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए। जोखिमपूर्ण भाग हटाउने र सडक विस्तार गर्ने कामका लागि सम्बन्धित सरकारी निकायबाट आवश्यक सहजीकरण भइरहेको उनको भनाइ छ।
घोप्टेभिरमा करिब एक महिनादेखि पटकपटक सुक्खा पहिरो खस्दा सडक आवागमन प्रभावित हुँदै आएको छ। पहिरो र ढुङ्गा खस्ने घटनाका कारण यसअघि एक जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक भएको छ।
मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौंंतर्फ पर्ने घोप्टेभिर राजधानी प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनका लागि प्रयोग हुने पृथ्वी राजमार्गको महत्त्वपूर्ण खण्ड हो। उपलब्ध विवरणअनुसार उक्त सडकखण्डमा दैनिक एक हजार पाँच सयभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।
निर्माण कार्यका क्रममा दैनिक पाँच घण्टा सवारी आवागमन रोकिने भएकाले यात्रु तथा चालकले निर्धारित समयअनुसार यात्रा व्यवस्थापन गर्नुपर्नेछ।

















