भारतसँग १८४ अर्बको सहुलियतपूर्ण ऋण र ५६ अर्ब अनुदानमा सहमति, पूर्वाधार र ऊर्जा क्षेत्रमा उपयोग गरिने
वि.सं.२०८३ मंसिर ८ मंगलवार १५:००
shares

काठमाडौं, ८ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल खर्च गरिने रकम नभई आयोजना आवश्यकता र निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको बताएका छन्। उनले भारतबाट प्राप्त हुने ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँको ऋण पूर्वाधार तथा ऊर्जा क्षेत्रका आयोजनामा उपयोग गर्ने सरकारको योजना रहेको जानकारी दिएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। उनका अनुसार नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार तथा प्रसारण लाइनलगायत पूर्वाधार निर्माणमा उक्त ऋण उपयोग गर्न सकिनेछ।
१८४ अर्ब रुपैयाँ बराबरको ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे। ऋण अमेरिकी डलर वा भारतीय रुपैयाँमध्ये कुन मुद्रामा लिने भन्ने विकल्पसमेत खुला रहेको उनको भनाइ छ। भारतीय रुपैयाँमा ऋण लिने र भुक्तानी गर्ने विकल्पले विनिमय दरको जोखिम व्यवस्थापनमा सहयोग पुग्न सक्ने उनले उल्लेख गरे। यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या देखिएको पनि उनले बताए।
बैठकमा अर्थमन्त्री वाग्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई प्रवेशमार्ग उपलब्ध गराउने सहमतिबारे पनि जानकारी गराएका थिए। उनका अनुसार नेपालले यस विषयमा विगत १० देखि १२ वर्षदेखि कूटनीतिक पहल गर्दै आएको थियो। यसअघि एकतर्फी रहेको हवाई प्रवेशमार्गलाई दुईतर्फी बनाउने सहमति भएको उनले बताए। आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
भारतको बागडोगरा विमानस्थलसँग सम्बन्धित विषय तथा नेपालको १२५ किलोमिटर भूभाग भारतले किनेको भन्ने सञ्चारमाध्यममा आएका विवरणबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले त्यस्ता समाचारमा सत्यता नरहेको दाबी गरे।
त्यसैगरी, सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजना नयाँ नभई सन् २००४ देखि नै नेपाल र भारतबीच संयुक्त अध्ययनको प्रक्रियामा रहेको अर्थमन्त्री वाग्लेले बताए। उनका अनुसार सुनकोशी–सप्तकोशी हाइ ड्याम आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमसम्बन्धी अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपीओ) स्थापना गरिएको छ। उक्त कार्यालयलाई आयोजनाको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका जिम्मेवारी दिइएको उनले जानकारी दिए।
भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’सम्बन्धी भिजन डकुमेन्टबारे उठेका प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त दस्तावेज दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्यले तयार गरिएको बताए। दस्तावेजमा कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायत १० वटा प्रमुख क्षेत्र समेटिएको उनले जानकारी दिए।
उनका अनुसार भिजन डकुमेन्ट कार्यान्वयनका लागि छुट्टै पञ्चवर्षीय योजना आवश्यक छैन। नेपालको कृषि रणनीति, आवधिक योजना, बजेट तथा नीति कार्यक्रम यथावत् रहने र उक्त दस्तावेजले विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले भारतसँग भएका सहमतिमा अनुदान, सहुलियतपूर्ण ऋण, हवाई सम्पर्क, ऊर्जा तथा पूर्वाधार विकास र द्विपक्षीय सहकार्यका विषय समेटिएको जानकारी गराएका थिए।
प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको थियो। सोही क्रममा सांसदहरूले भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे विभिन्न प्रश्न उठाएका थिए।

















