सोनापुर र स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
वि.सं.२०८३ मंसिर ९ बुधवार ०९:५७
338
shares
shares

काठमाडौँ — सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको लाभांश हात पार्ने आज (मंसिर ९, बुधबार) अन्तिम दिन हो। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि भोलि मंसिर १० गते बुकक्लोज तोकेकाले आजसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहने लगानीकर्ता मात्र लाभांश र सभामा सहभागी हुन योग्य हुनेछन्।
सोनापुर मिनरल्स एण्ड आयलले मंसिर २३ गते बुधबार बिहान १० बजे दाङको घोराहीस्थित होटल माला इनमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले चुक्ता पुँजीको कर सहित ५.२६३ प्रतिशत नगद लाभांश (५ प्रतिशत नगद र ०.२६३ प्रतिशत कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण अनुमोदन र लेखापरीक्षक नियुक्तिसम्बन्धी एजेन्डासमेत सभामा पेस हुनेछ।
यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २३ गते नै बिहान ९ बजे काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ४० औँ वार्षिक साधारण सभा डाकेको छ। सभाले सेयरधनीलाई कर प्रयोजनार्थसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
स्ट्याण्डर्ड चार्टर्डको सभाले लेखापरीक्षक नियुक्तिसँगै सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसमेत सम्पन्न गर्नेछ।

















