छिमेक लघुवित्तको नाफा २१ प्रतिशतले घट्यो
वि.सं.२०७९ साउन १७ मंगलवार ०९:०८
shares

काठमाडौं, १७ साउन । छिमेकी लघुवित्त वित्तीय संस्थाको नाफा २१ प्रतिशतभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४३ प्रतिशत कम हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.०८ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १२.५९ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा २४ करोड १३ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफा घट्न पुगेको हो ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ३८ पैसा घटेर ४४ रुपैयाँ ४२ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७७ गुणा रहेको छ ।
















