भदौमा पनि बैंकको ब्याजदर यथावत रहने
वि.सं.२०७९ साउन ३० सोमवार १४:०६
shares

काठमाडौं, ३० साउन । भदौ महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । हरेक महिना घटबढ हुने बैंकको ब्याजदर चालू आर्थिक वर्षको दोस्रो महिनासमेत ब्याजदर नबढ्ने भएको हो ।
विगत पाँच महिनादेखि कायम रहेको ११.०३ प्रतिशत ब्याजदर भदौ महिनामा पनि कायम रहने भएको छ । बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिए ।
संस्थागत मुद्धतीमा भने राष्ट्र बैंकले तोकेअनुसार नै व्यक्तिगतमा भन्दा २ प्रतिशत कम अर्थात् ९.०३ प्रतिशत ब्याजदर कायम हुनेछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिनादेखि बैंकको ब्याजदार बनउनु पर्ने बताउँदै आएका छन् । तर बैंकर्स संघले भने ब्याजदर नबढाउने निर्णय गरेको हो ।
अहिले निक्षेप संकलन खस्केको अवस्थाका कारण गर्दा ब्याजदर यतावत राख्ने निर्णय भएको अध्यक्ष उपाध्यायले बताए । ‘राष्ट्र बैंकले दिएको निर्देशनको अधिमा रहेर संस्थागत निक्षेपलाई २ प्रतिशत घटाएर ०.५ प्रतिशत थप्ने प्रावधानलाई प्रयोग गर्ने र व्यक्तित मुद्दती निक्षेपमा ११.०३ प्रतिशत नै कायम गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष उपाध्यायले भने ।
स्रोत नबढेकाले ब्याजदर बढाउँदा लागत बढ्ने तर्फ ध्यान दिएर यो निर्णय गरेको उनको भनाइ छ । अर्को महिना भने पहिलो त्रैमासिकको अन्तिम पनि हुने भएकाले त्यो समयमा पुर्नविचार गर्ने गरी समझदारी भएको उपाध्यायले बताए ।















