Dhulikhel Eco Banner new

नेपाल टेलिकमको नाफा १७ प्रतिशतले बढ्यो

4.45K
shares

काठमाडौं, ३० साउन । नेपाल टेलिकमले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा १७.५४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्ममा टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी बढाएसँगै नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष टेलिकमले सेवा व्यापारबाट ३५ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेकोमा यसपटक बढाएर ३७ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ अर्ब २७ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ३९ रुपैयाँ ६१ पैसाबाट बढेर ४६ रुपैयाँ ५६ पैसामा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५२८ रुपैयाँ १३ पैसा छ ।