Dhulikhel Eco Banner new

जलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामीक फाइदालाई ध्यान दिइन्छ : मन्त्री भुसाल

5.04K
shares

काठमाडौं, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छिन् ।

जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रह समेत गरेकी छिन् ।

जलस्रोत विकास संस्थाले जलविद्युत्को विकासका रणनीतिक आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री भुसालले भनिन्, “पानीको तल्लो तटीय अधिकारको विषयलाई कसैले पनि छोडेको छैन, पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ । यसमा कसैले पनि शङ्का नगरौँ ।”

सबै राजनीतिक दल र जलस्रोत क्षेत्रका जानकारहरू एक भएर देशको हितमा लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “देश र जनताको हितमा लागौं, अरुलाई औंला ठड्याएर आफू मात्र राष्ट्रवादी बन्ने संस्कार त्यागौँ ।” मन्त्री भुसालले लगानी बोर्डले अगाडि बढाएको पश्चिमसेती र एसआर–६ आयोजना निश्चित समयभित्र मुख्य कार्यहरू सम्पन्न गर्नुपर्ने समयसीमा सहित अध्ययनका लागि मात्र समझदारी गरिएको स्पष्ट पारिन् ।

निरन्तर बगेर गएको पानी प्रयोग गरेर देशको ऊर्जा आवश्यकतालाई पूरा गर्ने र बढी भएको विद्युत बिक्री गरेर विदेशी मुद्रा आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले देशको व्यापारघाटा कम गर्न सक्ने विश्वासिलो क्षेत्र भनेकै ऊर्जा नै हो भनिन् ।

प्राकृतिक स्रोतको अधिकतम सदुपयोग हुने गरी पछिल्लो समय आर्थिक तथा प्राविधिक विषयलाई समेत विश्लेषण गरेर केही नीति परिवर्तन गरिएको जानकारी दिँदै मन्त्री भुसालले भनिन्, “विद्युत विकासका लागि नदी प्रवाहीमा आधारित आयोजनाको लाइसेन्स लगभग सकिएको छ, छ हजार चार सय मेगावाटको विद्युत खरिद सम्झौता भएको छ ।

हरेक थोपा पानी बिजुलीको युनिट हो भन्ने मान्यताका साथ देशको साधन र स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ । त्यसैले पछिल्लो पटक हामीले डिजाइन डिस्चार्जमा कायम गरीएको सीमा खुला गर्ने (क्यू फ्रि) नीति लिएका छौँ ।”

वर्षातमा विद्युत खेर जाने र हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था अझै कायम रहेको उल्लेख गर्दै मन्त्री भुसालले आफूले ऊर्जा मन्त्रालय संहालेपछि ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युतका लागि जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेको बताएकी छिन् ।