अर्थतन्त्रलाई जोगाउन रेमिट्यान्सका महत्वपूर्ण भूमिका छ : अर्थमन्त्री शर्मा
वि.सं.२०७९ भदौ २९ बुधवार १८:३५
shares

काठमाडौं, २९ भदौ । कोरिया भ्रमणमा रहेका अर्थमन्त्री जनार्दन शर्माले त्यहाँ रहेका नेपालीहरुलाई बैंकिङ प्रणालीबाट रकम पठाउन आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना गरेको कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुसँगको अन्तक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन ।
अहिले नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्थामा अर्थतन्त्रलाई जोगाउनका लागि रेमिट्यान्सको महत्वपूर्ण भुमिका हुने अर्थमन्त्री शर्माको भनाइ थियो । नेपाललाई आर्थिक विकास र समृद्धिका लागि ठूलो पुँजीको आवश्यक रहेको भन्दै यसका लागि विदेशमा रहेका नेपालीको महत्वपूर्ण सहयोग आवश्यक रहेको उनले बताए । विदेशमा रहेका नेपालीहरुको सहयोगमा लगानी सँगै नयाँनयाँ प्रविधि समेत भित्र्याउनु पर्ने आजको आवश्यकता रहेको मन्त्री शर्माको भनाइ छ ।
नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको समयमा ग्लोबल आइएमई बैंकले कोरियामा शाखा स्थापनाको प्रकृया अगाडि बढाउनु सुखद भएको उनको भनाइ थियो । विश्वभर छरिएका नेपालीलाई जोड्नका लागि पनि बैंकले महत्वपूर्ण भुमिका खेल्ने उनको विश्वास थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । गैर आवासिए नेपालीसँगको सहकार्य र हातेमालोबाट नै मुलुकको सम्मृद्धि सम्भव रहेको उनले बताए । ‘नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईहरुले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईहरुको लगानीको सुरक्षा गर्न हामी तयार छौँ,’ उनले भने ।
उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्विकृति पर्खिरहेको पनि जानकारी दिए ।
कार्यक्रममा दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरु नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानीका लागि तयार रहेको बताए ।

















