तपाईको मोबाइलमा ई–सिम चल्छ कि चल्दैन ?
वि.सं.२०७९ असोज ४ मंगलवार १६:५१
shares

काठमाडौं, ४ असोज । नेपाल टेलिकमले पछिल्लो समय ई–सिम वितरण गरिरहेको छ । सुरुमा सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको टेलिकमले मंगलबारदेखि विभिन्न ८ स्थानबाट ई–सिम वितरण गर्न सुरु गरेको हो ।
ई–सिम वितरण गर्ने भए पछि धेरैलाई आफ्नो मोबाइलमा ई–सिम चल्छ कि चल्दैन भन्ने विषयमा द्धिविधा उत्पन्न भएको देखिन्छ । कुनै पनि मोबाइलमा ई–सिम चल्छ कि चल्दैन भनेर जानकारी दिनका लागि *#06# डायल गरी एकिन गर्न सकिने टेलिकमले जनाएको छ । यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनि थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।
त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
अहिले टेलिकमले सुन्धारा सहित नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम ई–सिम वितरण गरिरहेको छ ।
















