Dhulikhel Eco Banner new

काठमाडौं पठाउन थाल्यो दाङका खसीबोका

4.51K
shares

काठमाडौं, १४ असोज । लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनिसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए ।

“तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ”, उनले भने, “सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ ।” गत वर्ष दसैँमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उनको भनाइ छ ।

जिल्लाको लमही–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले जिउँदा खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो । मूल्य निधारण गरेपछि तौलका आधारमा खसीबोकाको मूल्य तोकिने गरिन्छ ।

कर्मठ सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले बिहीबारमात्रै एक सय १८ खसीबोका बिक्री गरेको छ । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३४ गरी जम्मा एक सय ५२ खसीको जम्मा रु २७ लाख ७१ हजार पाँच सय चार बराबरको कारोबार गरेको संस्थाका सुपरभाइजर पार्वती बस्नेतले जानकारी दिए ।

दाङबाट यस वर्ष सात सय खसीबोका काठमाडौँ पठाउन थालिएको छ । दसैँ सुरु भएदेखि पाँच सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खरिद गर्छ । तिनै खसीबोका खाद्यले किन्ने गरेको उनको भनाइ छ ।

गत वर्ष जिल्लाबाट एक हजार खसीबोका काठमाडौँ लगिएको थियो । यसपालि खाद्यले दाङलाई दिएको कोटा सात सय रहेको र थप माग भएमा तीन सय कोटा थप गरेर एक हजारसम्म पठाउन सकिने अवस्था रहेको सुनारले बताए । जिल्लामा सहकारी संस्थासँग समन्वय गरेर खसीबोका खरिद गर्ने काम भइरहेको उनले बताए ।

पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई रु पाँच सय ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई रु पाँच सय ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिए। अठार किलोभन्दा माथिका बोकाको प्रतिकिलो रु पाँच सय ५५ मा खरिद भइरहेको छ । वार्षिक रु दुई करोड बढीका खसीबोका काठमाडौँ पठाउने गरिएको छ ।

दाङ खसीको मासुमा आत्मनिर्भरसँगै बाहिरका जिल्लामा खसीबोका पठाउने अवस्थामा पुगेको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत महेश आचार्यले बताए । हेफरको सहयोगमा किसानले प्रशस्त खसीबोका पाल्ने गरेका कारण दाङ खसीको मासुमा आत्मनिर्भर भएको हो । लमही नगरपालिकाभित्रका चारवटा सहकारी संस्थाले खसीबोका खरिद गर्ने गरेका छन् । किसानलाई सहुलियत दिने र बिक्री गर्न सजिलो होस् भनेर यसो गरिएको उनले बताए ।