पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृतलाई एमाले नेताको ज्यान मार्ने धम्की
वि.सं.२०७९ असोज १४ शुक्रवार ११:४४
shares

काठमाडौं, १४ असोज । एमालेका नेता तथा प्रतिनिधि सभाका निर्वतमान सदस्य राजेन्द्र राइले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिएका छन् । एमाले नेता राईले नगरपालिकाका प्रमुख प्रशासकीय अधिर्कत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका हुन् ।
राईले पौडेललाई टेफिफोन गरेर धम्क्याएका हुन् । राईको धम्कीपछि प्रमु ख प्रशासकीय अधिकृत पौडेलले आफू असुरक्षित भएको भन्दै सरकारका विभिन्न निकायमा समेत निवेदन दिएका छन् । उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
सामाजिक सन्जालमा सार्वजनिक भएको टेलिफोन सम्वादमा राईले पौडेललाई सरुवा भएर नगए अस्तित्व ‘समाप्त’ पारिदिने धम्की दिएका छन् । उनले भनेका छन्, ‘मैले भन्दिएको छु नि तपाईंको अस्तित्व म समाप्त पार्दिन्छु ।’
पौडेलले ‘के गर्या छुर हजुर मैले त्यस्तो ?’ भनेर सोध्दा राईले उत्तर दिएका छैनन् । उनले भनेका छन्, ‘तपाईंलाई कसैले जोगाउन सक्दैन, शेरबहादुर देउवा आए पनि, तपाईको रामचन्द्र पौडेल आए पनि जोगाउन सक्दैन, तपाईं खुरुक्क जाने अब सरुवा लिएर । त्यो राम्रो हुन्छ । कुनै घटना घट्यो भने मलाई नभन्नु ।’
त्यसपछि फेरि पौडेलले के गरेर मैले भन्नु न त ? भनेर सोधेका छन् । त्यसपछि राई भन्छन्, ‘तपाईं जस्ता कति मान्छेलाई झुण्ड्याएर हान्दिएको छु मैले थाहा छ ? झुण्ड्याएर हान्न बाँकी छ । म आउँछु कुन दिन । तपाईले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो ।’
















