३४ वटा कम्पनीको आईपीओ पाइपलाईनमा, दशैँ लगतै बिक्री खुल्ला हुने
वि.सं.२०७९ असोज १७ सोमवार १२:३०
shares

काठमाडों, १७ असोज । अहिले विभिन्न कम्पनीको आईपीओ निष्काशनको अन्तिम तयारीमा रहेका छन् । धितोपत्र बोर्डको तथ्यांकअनुसार अहिले ३४ वटा कम्पनीको आईपीओ पाइपलाइनमा रहेको छ र त्यो दशैँ लगतै बिक्री खुल्ला हुने भएको हो ।
बोर्डको पाइपलाइनमा रहेका ३४ वटा कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । पाइपलाइनमा रहेका कम्पनीमा २० वटा जलविद्युत कम्पनी नै रहेका छन् । त्यस्तै २ वटा बीमा कम्पनी, उत्पादन मुलक कम्पनी ३ वटा, ३ वटा माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरु रहेका छन् ।
पाइपलाइनमा रहेका कम्पनीलहरुले ८ करोड १८ लाख २५ हजार ४८१ कित्ता शेयर निष्काशनको अन्तिम तयारीमा रहेका छन् । ति कम्पनीहरुले १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७८५ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेका कम्पनीहरुमा रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, कुन्थेली बुखारी स्मल हाइड्रो, ट्रेड टावर लिमिटेड, परमाई हाइड्रोपवार, सगरमाथा जलविद्युत कम्पनी, माई खोला हाइड्रो, मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल, मेन्छियाम हाइड्रो, सानिमा मिडल तमोर, मोलुङ हाइड्रो कम्पनी, बाराही हाइड्रो, एशियन हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन, सिटी होटेल लिमिटेड, इन्गुवा हाइड्रो आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा रहेका छन् ।
सर्वोत्तम सिमेन्ट, सुपर मादी हाइड्रो, शुभम पावर, थ्री स्टार हाइड्रो, आत्मानिर्भर लघुवित्त, डिश मिडिया नेटवर्क, माया खोला हाइड्रो, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, बिपीडब्लु लघुवित्त, घोराही सिमेन्ट, अपर स्यांगे हाइड्रो, रावा इनर्जी डेभलपमेन्ट रहेका छन् ।
त्यस्तै रिलायन्स स्पिनिग मिल्स, दोल्ती पावर कम्पनी, आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा रहेका छन् । सिटि होटल, हाईखोला हाईड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सुपरमाई हाईड्रोपावर, मोलुङ हाईड्रोपावर कम्पनी आईपीओ ल्याउने बोर्डमा पुगेका छन् ।
सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिइसकेका छन् । दुबैले शुरुमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत शेयर निष्काशन गर्नेछन् । सर्वोत्तम सिमेन्टले शुरुमा २४ करोड रूपैयाँको २४ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यस्तै रिलायन्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत शेयर निष्काशन गर्ने जनाएको छ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ । रिलायन्सको बिक्री प्रबन्धकमा पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यस्तै घोराही सिमेन्ट र रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा शेयर निष्काशन गर्ने भएका छन् । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्काशन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सिमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ । यस्तै सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्काशन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
यस्तै रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
















