पब्लिक लिमिटेडमा परिणत हुँदै बीमा संस्थान, कसरी पुर्याउँदै छ चुक्ता पुँजी ?
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १७:१२
shares

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । नयाँ बीमा ऐन लागू भएसँगै संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।
राष्ट्रपतिबाट प्रमाणिकरण भएर राजपत्रमा समेत प्रकाशन भइसकेको बीमा ऐन, २०७९ कात्तिक २२ गतेदेखि कार्यान्वयनमा आउँदै छ । त्यसपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति समेत प्राधिकरणमा रुपान्तरण हुने छ । नयाँ ऐन लागु भएसँगै बीमा संस्थान ऐन २०२५ खारेज हुने छ ।
नयाँ बीमा ऐन अनुसार बीमा प्राधिकरण स्थापना भएको एक वर्ष भित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत हुनुे व्यवस्था उल्लेख गरिएको छ । पब्लिक लिमिडेठमा रुपान्तरण भएपछि संस्थानमा कार्यरत कर्मचारीहरु, चल अचल सम्पत्ति र दायित्वहरु समेत स्वतः कम्पनीको हुनेछ ।
पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै बीमा समितिले तोकेको चुक्ता पुँजी कसरी पुर्याउनछ भन्ने चासो पनि बढेको छ । समिति (बीमा प्राधिकरण) ले तोकेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कार्यम गर्नका लागि चैत मसान्तसम्मको समय रहेको छ । यो अवधिमा १८ करोड १० लाख चुक्ता पुँजी भएको कम्पनीले कसरी ५ अर्ब पुर्याउनका लागि ४ अर्ब ८१ लाख बढी पुँजी थप्नु पर्ने हुन्छ ।
यसका लागि अहिले लगानी गरेका संस्थाहरुले पुँजी थप गरेको खण्डमा सहज हुने अन्यथा अरु बाटो खोज्नु पर्ने अवस्था रहेको संस्थानका सूचना अधिकारी भोलानाथ घिमिरेले जानकारी दिए । राष्ट्रिय बीमा संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको लगानी रहेको छ । ‘लगानीकर्ताहरुले पुँजी थप गरेको खण्डमा हामीलाई तोकिएको चुक्ता पुँजी पुर्याउनका लागि समस्या हुँदैनन्, त्यसो हुन नसकेको खण्डमा नयाँ पार्टनर खोज्नु पर्ने अवस्था पनि आउन सक्छ,’ सूचना अधिकारी घिमिरेले भने ।
अर्को विकल्प भनेको पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि साधारण शेयर जारी गर्ने विकल्प पनि रहेको उनको भनाइ छ । यी विविध उपाय अपनाएर तोकिएको समयमा चुक्ता पुँजी पु¥याउन सकिने उनले बताए । हाल संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।















