Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण

5.32K
shares

काठमाडौं, १७ कात्तिक । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निधोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७९ छैटौं संशोधन लागू गरेको छ ।

बोर्डले गत भदौमै संशोधन गरेको उक्त निर्देशिका कात्तिक १७ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्देशिका लागू भएसँगै अब वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आईपीओमा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ ।

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका छैटौं संशोधन गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित शेयरको १० प्रतिशत शेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र पाउने व्यवस्था गरेको हो ।

सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि बोर्डले निर्देशिका संशोधन गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले निष्कासित शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खतामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याइएको शेयर विक्री नभई बाँकी रहन गएमा उक्त शेयर सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्थासमेत संशोधित नियमावलीमा गरिएको छ । यो व्यवस्था अंकित मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने संगठित संस्थाको हकमा लागू नहुने बोर्डको भनाइ छ ।