Dhulikhel Eco Banner new

‘निर्यात ठप्प छ, आयातित वस्तुले मात्रै मुुलुक धान्न सक्दैन’

6.64K
shares

काठमाडौं, २४ कात्तिक । अहिले आर्थिक क्षेत्रको अवस्था अप्ठ्यारो स्थितिमा रहेको छ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलाई सामना गर्न नसकेर आन्दोलनमा उत्रिएका छन् । सरकारले लागु गरेको कडा नियम र बैंकहरुले गरको ज्यदतीका कारण आफूहरु भोकभोकै मर्ने अवस्थामा पुगेको उद्योगी तथा व्यवसायीहरुको भनाइ छ । यसै विषयमा आधारित रहेर उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मासँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायको अवस्था कस्तो छ ?

अहिले उद्योग व्यवसायको अवस्था त नाजुक स्थितिमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीको कारण व्यवसायीहरु मार्कामा परेका छन् । सबै क्षेत्रलाई समग्र रुपमा मान्य हुने नीति तथा नियम नल्याएका कारण यस्तो अवस्था आएको हो । राष्ट्र बैंकको निर्दयी व्यवहारका कारणले अहिले उद्योग व्यवसायमा समस्या आएको हो । बजारमा भएको तरलता अभावका कारण निजी क्षेत्र अहिले अस्तव्यस्त बन्न पुगेको छ ।

राष्ट्र बैंकले लगाएको कडा नीतिका कारण निजी क्षेत्रलाई कस्तो असर गरेको छ ?

राष्ट्र बैंकले लगाएको कडा नीतिका कारण त निजी क्षेत्रलाई धेरै समस्या पारेको छ । कुनै पनि व्यवसायीले व्यवसाय गर्दा ब्याजदरको प्रतिशत र मुनाफालाई ध्यान दिनुपर्ने हुन्छ । अहिले भएको चर्को ब्याजदर हेर्दा त व्यवसायीहरुले १०० मा किनेको सामान २०० मा बेच्नुपर्ने अवस्था रहेको छ । तर त्यसो गर्दा उपभोक्ताहरु ठुलो मारमा पर्छन भन्ने कुरालाई पनि ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने हुन्छ ।

त्यसैले अहिले करिब करिब व्यवसाय ठप्प नै छ । निर्यात छैन आयातमुखी अर्थतन्त्रले मात्र मुलुक धान्न सक्दैन । अब पनि अहिलेको अवस्थामा सुधार हुन सकेन भने दुई तीन महिनापछि त बैंकहरुले निक्षेपकर्ताको पैसा पनि फिर्ता गर्न सक्दैनन् । किनभने चर्को ब्याजदरमा ऋण लिएको छ । अनि प्रवाह गर्न सकेको छैन ।

काम गर्ने वातावरण छैन । यो भन्दा ८–१० वर्ष पहिले नै कडाईका साथ अनुगमन गर्नुपर्ने विषयलाई ल्याएर राष्ट्र बैंकले अहिले एकैचोटी यो कदम चाल्दा सम्पूर्ण अर्थतन्त्र जगतमा नै असर परेको छ । त्यसमा पनि कोभिडले पारेको समस्या त छदैछ ।

सरकारले ६ वर्ष खाँदा हुने औषधीलाई एक वर्षमा नै सिद्याउने प्रयास गरको छ । त्यसले गर्दा समस्या आएको हो । एकैचोटी नगरी बिस्तारै व्यवस्थापन गर्नुपर्ने थियो । पर्यटन जस्ता क्षेत्रलाई ध्यान दिनुपर्छ । कोभिडको कारणले पर्यटन व्यवसाय त ठप्प नै छ । पछिल्लो समय थोरै थारै मात्रमा व्यवसायले गति लिन थालेकको छ । सरकारको नीतिका कारण पछिल्लो समय यो व्यवसायलाई समस्या भइरहेको अवस्था हो ।

ब्याजदर बाहेक अरु समस्या के–के छन् निजी क्षेत्रका ?

ब्याजदर त एउटा पाटो मात्र भयो अरु धेरै छन् निजी क्षेत्रका समस्याहरु । अहिले राष्ट्र बैंकले जुन नियम लागु गरको छ त्यो धेरै नै कठोर रहेको छ । एक करोड ऋण खाएको भने पाँच करोडको खरिदबिक्री देखाउनुुपर्ने हुन्छ । त्यो असम्भव कुरा हो ।

बीस लाख रुपैयाँको कारोबार गर्ने मान्छेले १ करोडको खरिदबिक्री कसरी देखाउने ? बीस लाखको कारोबार गर्ने अनि ८० लाख बैंकमा कसरी देखाउने ? त्यसले गर्दा मान्छेले घर खेत सबैं उठाउने अवस्था भैसक्यो । यस्तो अवस्थामा बैंकले कतिका घर लिलाम गरेर सक्ने । कतिको जग्गा आफ्नो कब्जामा लिने ? यो नियमलाई कोभिडको समयभन्दा अघि नै वा अर्थतन्त्र चलायमान भएको बेलामा नै यो नियम ल्याएको भए केही सजिलो हुन्थ्यो ।

निजी क्षेत्रलाई सहज बनाउनका लागि राष्ट्र बैंकले के गर्नु पर्छ ?

पर्यटन क्षेत्रदेखि जति पनि निजी क्षेत्रमा प्रवाह भएका ऋणहरुलाई एउटा निश्चित समय दिने । चालु पुँजी कर्जालाई कडाइ नगरीकन केही वर्ष समय दिएर आफ्नो परिधिभित्र बाँध्दै जाने । व्यवसायीले ऋण तिर्दिन पनि भन्दैनन् । बजार अलि चलायमान भएपछि व्यापार व्यवसाय सुधार आएपछि बिस्तारै सबैकुरा सहज बनेर जान्छ तर त्यसको लागि केही समय चाहिन्छ ।

ऋण दिएर मात्र हुँदैन ऋण दिएपछि के बुझ्नुपर्छ भने ऋण पाएपछि व्यवसायीले कमाउन सक्नुपर्छ । ‘मुनाफा कति राखेर दिने हो भन्ने कुरा बुझ्न आवश्यक छ । मुनाफा जति सबै मैले कब्जा गरेर ऋण दिएपछि उसले कसरी बैंकको ऋण तिर्न सक्छ ?’ यस्ता कुराहरु वित्तीय क्षेत्र तथा सरकारले बुझ्न अत्यन्त आवश्यक छ । ऋणहरु प्रवाह गर्दा समुचित व्यवस्था गरेर मात्र ऋण प्रवाह गर्यो भने व्यवसायीलाई सहज हुन्छ ।

अहिले देश चुनावमा होमिएको छ । यसले निजि क्षेत्रलाई कस्तो असर पार्छ ?

चुनाव आयो कस्तो नेतृत्व आउछ भन्ने हो । अहिले अलि राम्रो हुन्छ कि भन्ने आशा हो अब बन्ने सरकारले सबै तिरका समस्या समेट्न सकोस भन्ने हाम्रो चाहना हो । कतिको सक्षम नेतृत्व बन्छ भन्ने त्यहीमा भर पर्छ । अहिले पहिले जस्तो नेताहरुले चन्दा माग्न छाडे ।

चन्दा माग्दा पनि व्यवसायीहरु नै मर्कामा छन् भन्ने कुरा नेताहरुले पनि बुझेका छन् । त्ससैले अहिले नेताहरुले चन्दा मागेको देखिदैन । तर कतिपय व्यवसायीहरुले आफै आफ्नो स्वार्थ पुरा गर्नका लागि चन्दा दिने गर्छन । तर जबरजस्ती दिनैपर्छ भन्ने अवस्था अहिले छैन ।

अब एफएनसीसीआईको चुनावको कुरा गरौ, अबको नेतृत्व कस्तो आउनुपर्छ ?

अब आउने नेतृत्व निडर र साहसी आउनुपर्छ । अहिले जति समस्याहरु रहेका छन् निजी क्षेत्रमा त्यसलाई सहजताको बाटोमा लैजाने खालको नेतृत्व आउनु आवश्यक हुन्छ । अबको नेतृत्व साना व्यवसायीहरुलाई पनि नजिकबाट बुझेको उनीहरुलाई पर्ने सम्भावित समस्याहरु पहिचान गर्न सक्ने आउनुपर्छ । अनिमात्र निजी क्षेत्रको स्थानीय स्तरबाट विकास हुन्छ ।

नेतृत्वमा गएपछि आफ्नो निजि स्वार्थलाई मात्र प्राथमिकतामा राखेर काम गर्ने भन्दा पनि ७७ वटै जिल्लामा पुगेर व्यवसायीका समस्याका विषयमा चासो लिन सक्ने नेतृत्वको खाँचो छ ।