Dhulikhel Eco Banner new

‘काठमाडौं २ का जनाताले चाहेर नै चुनावमा उठेकी हुँ’ (भिडियोसहित)

9.09K
shares

काठमाडौं, १ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेकी भगवती ढकालले आफूले चुनाव जितेको खण्डमा यो क्षेत्रका जनाताको समस्या समाधानसँगै विदेशी राष्ट्रसँग भएका सम्झौता खारेजीका लागि काम गर्ने बताएकी छिन् । केटिएम भ्वाइससँगको कुराकानीको क्रममा उम्मेदवार ढकालले भारतसँग भएका सन्धि सम्झौता खारेजीका लागि आवाज उठाउने र आफ्नो क्षेत्रका मतदाताका समस्या समाधान गर्ने बताएकी हुन् ।

भारतसँग भएका विभिन्न असमान सन्धिहरुको समय सकिएकाले ति खारेजी आफ्नो मुख्य एजेण्डा हुने उनको भनाइ थियो । यसका साथै संसदमा हुने सम्पूर्ण काम कारबाहीको विषयमा जनतालाई जानकारी दिने जिम्मेवारी पुरा गर्ने पनि ढकालको भनाइ छ । त्यस्ता असमान सन्धिहरु खारेजीका लागि संसदमा पहल गर्ने र त्यहाँ बाट हुन नसकेको खण्डमा अन्तराष्ट्रिय अदालतसम्म पुग्ने उनले बताइन् ।

जसरी पनि नेपालको भुमि फिर्ता ल्याउने गरी काम गरिने उनको भनाइ थियो । ‘१९५० को सन्धिको म्याद सकिएकाले त्यो खारेज गर्नु पर्छ, लिपुलेकको भने अहिले तुरुन्त खारेज गर्न सक्ने अवस्था छैन, त्यसमा पनि छलफल गर्नु पर्ने देखिन्छ,’ उनले भनिन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा खानेपानी, ढल लगायतका समस्याहरु रहेको भन्दै यी समस्या समाधानका लागि पनि पहल गर्ने उनको भनाइ छ । ‘यो क्षेत्रको पानीको समस्या समाधान गर्न सकिने भने म पदमा बस्दिन राजीनामा दिएर निस्कन्छु,’ उनले भनिन् । राजधानीकै जनतालाई पानी पनि पु¥याउन नसक्ने हो भने पदमा बस्नुको औचित्य नहुने उनले बताइन् ।

जनताको घरदैलोमा जाँदा कृषिका विषयमा बढी जिज्ञासा राख्ने गरेको र त्यस पछि खानेपानीको समस्या सुनाउने गरेको उनले भनिन् । सांसदले विकास निर्माण र नीति निर्माणका लागि समय छुट्याउनु पर्ने उनको भनाइ थियो । यस अघि जितेर गएकाहरु यो क्षेत्रमा नै नआएको गुनासो हुने गरेको भन्दै यस्तो अवस्था आउन नदिने उनको भनाइ छ ।

उनी लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर काम गरेकी ढकालले यो क्षेत्रका मतदाताले उम्मेदवार बन्न आग्रह गरेपछि चुनावी मैदानमा आएको सुनाइन् ।

भिडियो