Dhulikhel Eco Banner new

सन् २०२३ मा मुद्रास्फीति ६.६ प्रतिशतमा कायम रहेन आइएमएफको प्रक्षेपण

4.1K
shares

काठमाडौं, १७ माघ । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दर ६.६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । आइएमएफले सार्जजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक अनुसार सन् २०२३ मा विश्वभरको मुद्रास्फीति ८.८ प्रतिशतबाट घटेर ६.६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको हो ।

आइएमएफको प्रक्षेपण अनुसार यो वर्ष चिनियाँ अर्थतन्त्र चलायमान हुने र त्यसको प्रभावका कारण माग र आपूर्तीको चक्रमा सुधार हुनेछ । चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारपछि आइएमएफले सन् २०२३ को आर्थिक वृद्धि दरमा समेत सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.९ प्रतिशत पुग्ने अनुमान आइएमएफले गरेको छ । उक्त प्रक्षेपण गत अक्टोबरको तुलनामा ०.२ प्रतिशतले बढी हो । यस अघि सन् २०२२ को अक्टोबर महिनामा आइएमएफले सन् २०२२ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.७ प्रतिशत रहने जनाएको थियो ।

सन् २०२३ को आर्थिक वृद्धि दर सन् २०००–२०१९ यताकै कम हो । यस्तै सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि दरमा सकरात्मक सुधार आउने र आर्थिक वृद्धि दर ३.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चीनको अर्थतन्त्रमा सुधार आउँदा विश्व अर्थतन्त्रमा वृद्धि देखिएतापनि विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति नियन्त्रणका निमित्त विकसीत तथा विकासशील देशहरुले अपनाएको संकुचित मौद्रिक नीति, आक्रामक शैलीमा बढाउँदै गएको व्याजदर र रुस–युक्रेनबीच जारी युद्धका कारण विश्व अर्थतन्त्रमा असर कायमै रहने प्रतिवेदनमा उल्लेख छ ।

आइएमएफले सन् २०२३ मा विकसीत राष्ट्रहरुको आर्थिक वृद्धि दर १.२ प्रतिशत, उदायमान तथा विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४ प्रतिशत, उदायमान बजार व्यवस्था तथा मध्यम आयम भएका राष्ट्रहरुको आर्थिक वृद्धि दर ४ प्रतिशत र न्युन आय भएका विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४.९ प्रतिशत रहने जनाएको छ ।