Dhulikhel Eco Banner new

नेपालको लगातार चौथो जित, उपाधि विजेता स्कट्ल्याण्ड २ विकेटले पराजित

5.71K
shares

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले लगातार चौथो जित निकालेको छ । नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिजका सबै खेलमा नेपाल विजयी भएको हो ।

मंगलबार भएको अन्तिम खेलमा स्कटल्याण्डलाइ २ विकेटले पराजित गर्दै नेपालले यो सिरिजका सबै खेल जितेको हो । नामिबियाले सबै खेल हार्दा स्कटल्याण्डले भने दुई खेलमा जित निकाल्यो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अविजीत ९५ रनको योगदान दिए । त्यस्तै करण केसीले ३१ रन बनाए ।

यी दुईले ९ औँ विकेटका लागि ७५ रनको अविजीत साझेदारी गरे । त्यस्तै ज्ञानेन्द्र मल्लेले २१ रनको योगदान दिदा कुशल मल्लले १७ रनको पारी खेले । स्कटल्याण्डका लागि मार्क वाटले सार्वधिक ३ विकेट लिए । त्यस्तै क्रिश ग्रीव्स २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलि स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो । उसका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । त्यस्तै म्याथ्यु क्रसले ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । पाहुना टोलिलाई कम रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ विकेट लिदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।