Dhulikhel Eco Banner new

माई खोला हाइड्रोपावरको आईपीओ खुल्यो, क-कस्ले आवेदन दिन पाउने ?

10.34K
shares

काठमाडौं, २५ फागुन । माई खोला हाइड्रोपावर लिमिटेडले आजबाट पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी रू. ३९ करोड २१ लाखभन्दा माथिको १० प्रतिशत अर्थात् रू.३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।

त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गर्न लागिएको हो ।

यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि चैत ९ गतेसम्म आईपीओको विक्री खुला रहनेछ । उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा चैत २४ गतेसम्म विक्री अवधि थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।