Dhulikhel Eco Banner new

कृषि क्षेत्रमा लगानी मात्र होइन उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्छ : सीईओ उपाध्याय

6.29K
shares

काठमाडौं, २८ फागुन । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्व अध्यक्ष एवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन् । सहकारीमा समस्या मात्र छैनन्, उनले भने, ‘सम्भावना बोकेका र आफुलाई सफल प्रमाणित गरेका सहकारीहरुपनि छन् यसको पहिचान गर्ने र भन्ने समय आईसकेको छ ।’ सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा उपाध्ययको जोड रहेका छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्य किसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडीएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्व विकासमा ठूलो योगदान पुगेको उपाध्यायले बताएका छन् ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाएका छन् । उनले जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताए ।

उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आईरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दावी गरेका छन् । अहिले १ हजार ४ सय ५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको स्पष्ट पारेका छन् ।

ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको बताएका छन् ।

किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको स्पष्ट पार्दैै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कृषि विकास बैंकका सिईयो गोविन्द गुरुङले नेपालको दुरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पदन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सिईयो गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसंग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले सदस्यहरुको क्षमता विकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिने सम्भावना रहेको समेत बताएका छन् ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्नेमा जोड दिएका छन्। उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दावी गरेका छन् ।

उनले ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दुरदराजमा साना किसान कृषि सहकारीहरु स्थापना भई सञ्चालनमा रहेको बताए । अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमा चिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गरेकोे जानकारी दिएका छन् ।