Dhulikhel Eco Banner new

आफ्नो ठाउँमा फर्किन मिटरब्याजीलाई मन्त्री शर्माको आग्रह

3.82K
shares

काठमाडौँ, २१ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटर ब्याज पीडितलाई आफ्नो घर फर्किन फेरि आग्रह गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकार उनीहरूका समस्या समाधानका लागि गम्भीर भएको भन्दै आफ्नो ठाउँमा फर्किन उनीहरूलाई आग्रह गरिन् ।

उनले भनिन, ‘ फेरी हिजो आउनुभएछ उहाँहरूले मन्त्रिपरिषद्को निर्णयको विस्तृत उद्देश्य थाहा नपाएर आउनुभएको हुन सक्छ, उहाँहरूसँग छलफल हुनेछ उहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने यो काठमाडौँमा दुख पाएर बस्ने होइन, उहाँहरू आफ्नो ठाउँमा फर्किनुपर्छ । सरकारले समस्याको विषयमा जुन जाँच बुझ आयोग गठन गरेको छ, त्यसले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण समस्या सदाको लागि तत्काल समाधान गर्छ ।’

पत्रकार सम्मेलनमा मन्त्री रेखा शर्माले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण समस्या समाधानको लागि आयोग गठन गरिसकेको भन्दै सरकारले कुनै पनि हालतमा पीडितलाई न्याय दिने गरी काम थालेको बताइन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।