Dhulikhel Eco Banner new

ठूला आयोजनाहरु लगानी बोर्ड मार्फत अगाडि बढाइने

4.77K
shares

काठमाडौं, ३० चैत । स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना बोर्ड मार्फत अगाडि बढाउने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको छ । तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत आयोजनालाई अगाडि बढाउने लगानी बोर्डको बैठकले निर्णय गरेको छ । त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन्, त्यससँग जोडिएको विषयमा पनि केही निर्णय भएको मन्त्री डा. महतले बताए ।

रसायनिक मल उत्पादनको चासो चासो बढेको भन्दै यस विषयमा पनि लगानी बोर्डमा छलफल भएको मन्त्री महतको भनाइ छ । लगानी बोर्डका उपाध्यक्ष समेत रहेका अर्थ मन्त्री डा. महतले वैदेशिक लगानीलाई पनि अघि बढाउने निर्णय भएको बताएका छन् । ‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहेका छन्, दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रकृया अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने । लगानीसँग जोडिएको अन्य धेरै विषयमा बोर्डमा छलफल भएको मन्त्री डा. महतले बताए ।

‘यतिबेला लगानी विभिन्न चरणमा छन्, कोही अध्ययनको चरणमा छन्, कोही सम्पन्न हुने चरणमा छन्, कोही कार्यान्वयनको चरणमा पुगेका छन् । यी विभिन्न चरणमा भएका आयोजनाहरुलाई अगाडि बढाउने र त्यो सँगसँगै आगामी दिनमा लगानी बोर्डको प्राविधिक लगायत अन्य क्षमतामा वृद्धि गरेर भविष्यमा थप लगानीको परिवेश निर्माण गर्ने कुरामा पनि छलफल भएको छ,’ अर्थमन्त्री महतले भने । बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेका थिए, त्यस विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिने मन्त्री डा. महतले बताए ।