कर्मचारीको तलब बढाउने प्रस्ताव अर्थमन्त्रीको टेबलमा !
वि.सं.२०७९ जेठ ७ शनिवार १०:२८
shares
फाइल तस्वीर
काठमाडौं, ७ वैशाख । कर्मचारीहरुको तलब बढाउनका लागि बजेटमा प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत कर्मचारीहरुको तलब बढाउने तयारी गरिएको हो । अब नयाँ बजेट आउन एक सातामात्रै बाँकी छ । बजेटको तयारी अन्तिम समयमा आइपुग्दा कर्मचारीहरुको तलब बढाउने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको टेबलमा पुगेको छ ।
अर्थमन्त्रालय उच्च श्रोतले दिएको जानकारी अनुसार कर्मचारीहरुको तलब समायोजन गर्ने समय भएको भन्दै बजेट निर्माणमा जुटेको टिमबाटै यस्तो प्रस्ताव आएको थियो । तलब बढाउने वा नबढाउने भने निर्णय भने भइ नसकेको मन्त्रालय निकट श्रोतले बताएको छ ।
यस अघि आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमार्फत तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढाएका थिए । महंगीभत्ता र पोसाक भत्ता भने यथावत राखिएको थियो ।
कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेका कारण आगमी वर्षको बजेटमार्फत तलब बढाउनु पर्ने प्रस्ताव गरिएको हो । ‘प्रस्ताव मन्त्रीज्यू समक्ष पुगिसकेको छ तर अहिले अर्थतन्त्र सहज नभएका कारण बढाउन मिल्छ र भनेर मन्त्री ज्यूले निर्णय गरिसक्नु भएको छैन’ श्रोतले भन्यो ।
पछिल्लो समय बढ्दो आयातका कारण अर्थतन्त्रमा समस्या देखिएको छ । विदेशी मुद्राको सञ्चिति दयनीय बन्दै गएको छ भने शोधानान्तर स्थिति इतिहासकै उच्च घाटामा छ । कोभिड पछि महंगी भने बढेको छ । तलब नबढे पनि महंगी भत्ता बढाउन सक्ने सम्भावना भने रहेको श्रोतले बताएको छ । यस बाहेक बजेटमार्फत अन्य विभिन्न सुविधाहरुको स्कीम भने ल्याउने पक्का छ ।
अहिले कति छ तलब भत्ता ?
तीन वर्ष अघि तत्कालिन अर्थमन्त्रीले तलब भत्ता बढाएका थिए । त्यस अद्धि प्रथम स्तरको कर्मचारीको पहिलेको तलब मासिक १६ हजार २ सय २५ रहँदै आएकोमा ३ हजार २ सय ४५ र भत्ता २ हजार बढेर २१ हजार ४ सय ७० पुर्याइएको थियो ।
तलब बढ्नु अघि द्वितीय स्तरको कर्मचारीको पहिलेको तलब १७ हजार २ सय २४ थियो । जसमध्ये ३ हजार ४ सय ४२ रुपैयाँ ८ पैसा तलब र २ हजार भत्ता बढेर २२ हजार ६ सय ५७ रुपैयाँ कायम गरिएको थियो । तृतीय स्तरका कर्मचारीको पहिलेको तलब १८ हजार ३ सय १७ रुपैयाँ रहँदै आएकोमा ३ हजार ६ सय ६३ रुपैयाँ ४ पैसा तलब र २ हजार भत्ता बढी नयाँ तलब २३ हजार ९ सय ८० रुपैयाँ कायम भएको थियो ।
राजपत्र अनंकित प्रथम तहका कर्मचारीको तलब २३ हजार ४ सय ९४ रुपैयाँ रहँदै आएकोमा ४ हजार ६ सय ९८ रुपैयाँ तलब र २ हजार भत्ता वृद्धि भई ३० हजार १ सय ९३ नयाँ तलब कायम भएको थियो । राजपत्र अनंकित प्रथम (अमा) तहका कर्मचारीको तलब २५ हजार ६ सय ६६ रहँदै आएकोमा तलब ५ हजार १ सय ३३ र भत्ता २ हजार वृद्धि भई ३२ हजार ७ सय ९९ नयाँ तलब कायम भएको थियो ।
राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३० हजार ४ सय ८७ रहँदै आएकोमा ५ हजार ४ सय ८७ तलब र २ हजार भत्ता वृद्धि भई ३७ हजार ९ सय ७५ रुपैयाँ नयाँ तलब कायम भएको थियो ।
राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ३४ हजार २ सय १ रहँदै आएकोमा ६ हजार १ सय ५६ तलब र २ हजार भत्ता बृद्धि भई नयाँ तलब ४२ हजार ३ सय ५७ रुपैयाँ कायम भएको थियो ।
राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ४० हजार १ सय ४० रहँदै आएकोमा ७ हजार २ सय २५ तलब र २ हजार भत्ता बृद्धि भई ४९ हजार ३ सय ६५ रुपैयाँ र वरिष्ठ सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ४२ हजार ८ सय ६६ रुपैयाँ रहँदै आएकोमा ७ हजार ७ सय १५ तलब र २ हजार भत्ता गरी नयाँ तलब ५२ हजार ५ सय ८२ पुगेको थियो ।
यसैगरी राजपत्र अनांकित विशिष्ट सचिवको तलब ५१ हजार ४ सय रहँदै आएकोमा ९ हजार २ सय ५२ रुपैयाँ तलब र २ हजार भत्ता बृद्धि भई नयाँ तलब ६२ हजार ६ सय ५२ रुपैयाँ कायम भएको थियो भने मुख्य सचिव तहका कर्मचारीको पुरानो तलब ५४ हजार ५ सय ८१ बाट तलब ९ हजार ८ सय २४ रुपैयाँ र भत्ता २ हजार वृद्धि भई नयाँ तलब ६६ हजार ४ सय ६ रुपैयाँ पुगेको छ ।
















